Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा “लम्पि स्किन” का कारण गोरु थलिए : गाउँपालिका सरकार गम्भीर नबनेको किसानको गुनासो


बान्नीगढी जयगढ गाउँपालिकामा लम्पि स्किन रोगका कारण गाई गोरु थला परेपछि किसानहरू मर्कामा परेका छन् ।

खेतीपातीको समयमा विशेष गरि गोरुहरू ‘लम्पि स्किन’ रोगका कारण थला परेपछि किसानहरू मर्कामा परेका हुन् ।

बान्नीगढी जयगढ गाउँपालिकाको पशु सेवा शाखा प्रमुख हर्क बहादुर शाहीका अनुसार पालिकाकाका सबै वडामा यो रोगको सङ्क्रमण फैलिसकेको छ । उनका अनुसार करिब ६ सय बढी गोरुहरू लम्पि स्किनका कारण थला परेका छन् भने करिब १ दर्जन गोरुहरू मरेका छन् ।

‘लम्पि स्किन’ रोगका कारण गाई गोरु तथा पशुहरूमा ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको छ । पशु चिकित्सकका अनुसार यो रोग किर्ना, भुसुना, झिँगा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने गर्दछ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका कृषक नारायण उपाध्यायका अनुसार कालिकाका बिभिन्न टोलमा यो रोगका कारण पशु चौपायाहरू थला परेका छन् । खेतीपाती जोत्ने तथा बिउँ राख्ने समयमा गोरुहरू थला परेपछि आफूहरू मर्कामा परेको उनको भनाई छ ।

उता वडा नम्बर ६ दर्नाका निवर्तमान वडा अध्यक्ष कृष्ण कडायतले दर्नामा पनि गाई गोरुमा लम्पि स्किन रोगको सङ्क्रमण देखीदा कृषकहरू मर्कामा परेको बताएका छन् ।

उनका अनुसार दर्नाका बिभिन्न टोलहरूमा लम्पि स्किन रोगका कारण आधा दर्जन जति गोरु मरेका छन् । कृषकहरूले मानो रोपेर मुरी उब्जाउने यो समयमा गोरुहरू रोगका कारण थला परेपछि गरिखाने वर्गलाई समस्या भएको उनको भनाई छ ।

रोगको सङ्क्रमण तीव्र रुपमा फैलिदा समेत गाउँपालिका सरकार गम्भीर नभएको उनले बताएका छन् ।

यता गाउँपालिकाका पशु सेवा प्रमुख हर्क बहादुर शाहीले भने लम्पि स्किन रोग नियन्त्रणका लागी गाउँपालिकाले सक्दो प्रयास गरि रहेको दाबी गरेका छन् ।

यो रोगलाई पूर्ण रुपमा निको पार्ने कुनै औषधि तथा भ्याक्सिन नेपालमा तयार हुन नसकेका कारण रोग नियन्त्रणमा चुनौती देखीएको उनको भनाई छ ।


क्याटेगोरी : कृषि, पश्चिम खोज, भिडीयो, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode