Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दार्चुला : हिमपहिरोमा बेपत्ता फुपू–भदैको खोजी चल्दै


दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको भोलुम डाँडामा हिमपहिरोमा परेर बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज बिहीवार पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परेर हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताउनुभयो ।

‘बुधवार तीन वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि प्रहरी सहायक निरीक्षक असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ’, उहाँले भन्नुभयो, ‘यहाँ रहेका तीन वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ ।’

अहिले हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू–भदै हुनुहुन्छ । उहाँहरू एक हप्ताअघि मात्रै यार्सागुम्बा सङ्कलनका लागि छाङरु पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधवार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उहाँका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव भेटाएको थियो ।

यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका सात जनाको उद्धार गरेको थियो । ‘आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइसकेको छैन’, भट्टले भन्नुभयो, ‘घटनापछि यार्सा सङ्कलक सुरक्षित ठाउँतर्फ झरेका छन् ।’ यहाँ रहेका वर्ष दार्चुलालगायतका जिल्लाबाट यार्सा सङ्कलनका लागि आउने गरेका छन् ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode