Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

देउवा र रवि लामिछानेबीच भेटवार्ता


सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवाले पनि रास्वपा सभापति लामिछानेलाई भेटेका हुन् । सत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ, रास्वपा पनि तयार देखिएको छ ।

तर सत्तारुढ दलहरु गृह मन्त्रालय नदिएरै सरकारमा ल्याउन चाहन्छन् भने रास्वपा गृह मन्त्रालय लिएर मात्र सरकारमा जान चाहन्छ । ‘रास्वपाले सरकारमा जान हतार गरेको पनि छैन, आउँदिन पनि भनेको छैन, कांग्रेसका एक नेता भन्छन् , छलफलले ठोस आकार लिइसकेको छैन ।

त्यसैले अब हुने मन्त्रिपरिषद् विस्तारमै रास्वपा समावेश भएन भने पनि आश्चर्य नहुने नेताहरु बताउँछन् । तर सत्तारुढ दलहरुको प्रयास भने रास्वपालाई साथमा लिएर जाने नै छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा कुनै विमत्ति नभएको बताउँछन् ।

‘तर सरकारमा रहेका गठबन्धनका घटकहरुको निर्णय र रास्वपाको प्रस्तावका बीचमा मिटिङ प्वाइन्ट निस्कन्छ कि निस्किँदैन भन्नेमा भर पर्छ,’ उनले भने ।

रास्वपाले सरकारमा सहभागी हुनका लागि मुख्यतः चार वटा शर्त राखेको छ ।

पहिलो – विगतमा लिएका मन्त्रालयहरु दिनुपर्ने ।

दोस्रो – मन्त्रालयको काममा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउनुपर्ने ।

तेस्रो – संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्नुपर्ने

चौथो – सरकारको निरन्तरताको सुनिश्चितता हुनुपर्ने ।

सत्तारुढ दलका नेताहरु रास्वपाका अरु सबै शर्त मान्न तयार छन् । पुरानै मन्त्रालय पाउनुपर्ने शर्तमा भने अलमल छ । किनकी प्रधानमन्त्रीले गृह मन्त्रालय आफूसँगै राख्न चाहेका कारण २२ माघमा रास्वपाले सरकार छाडेको थियो ।

अहिले गृहमन्त्रीमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । उनलाई हटाएर गृह दिन प्रधानमन्त्री तयार भइसकेका छैनन् । बरु थप एक राज्यमन्त्री लिएर सरकारमा आउन आग्रह गरेका छन् । कांग्रेसका एक नेता भन्छन्, ‘गृह मन्त्रालय बेगर नै रास्वपा सरकारमा सहभागी हुन्छ भन्ने हामीलाई विश्वास छ ।’

विपक्षमा बस्दा प्रमुख प्रतिपक्षी एमालेको छायाँमा पर्ने भएकाले रास्वपा सरकारमा आउने सत्तारुढ दलहरुको बुझाइ छ । रास्वपामा पनि शर्तहरु पूरा हुने अवस्थामा आए सरकारमा गएर काम गर्न सकिने मत छ, तर गृह मन्त्रालय नदिएको अवस्थामा सरकारमा जाने सम्भावना कम देख्छन् ।

कांग्रेस नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाको समान धारण छ । तर गृह मन्त्रालय दिन सकिने वा नसकिने विषयमा देउवाले छिट्टै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई भेटेर छलफल गर्ने सम्भावना छ ।

रास्वपाले पनि शुक्रबार मात्र निर्णय गर्ने बताएको छ । रास्वपा सचेतक निशा डाँगी आफूहरुको शर्त र सत्तारुढ दलहरुको प्रस्तावलाई एकै ठाउँमा राखेर छलफल गरी निर्णयमा पुग्ने बताउँछिन् । उनी भन्छिन्, ‘आगामी शुक्रबार पार्टीको बैठक छ, त्यही खुलेर छलफल हुन्छ । त्यसपछि सरकारमा जानेरनजाने तय हुन्छ ।’


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode