Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कांग्रेस परित्याग गरेको पूर्व आईजीपी मोतिलाल बोहराको घोषणा (वक्तव्य सहित)


नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै बोहराले आफू प्रहरी सेवाको अवकासपश्चात विगत २५ वर्ष देखि नेपाली कांग्रेसको सक्रिय सदस्य र महाधिवेशन प्रतिनिधि समेत भएर प्रतिवद्धताका साथ यथासक्य काम गरेको तर अहिलेको देशको अवस्थामा नेपाली कांग्रेसले लिएका कदमले आफूमा विरक्ति उत्पन्न भएको भन्दै पार्टीबाट मुक्त भएको जनाएका छन् ।

“देश संकटको भूमरीमा परेका वखत समेत नेपाली कांग्रेस मौन छ, त्यसो हुनाले अब यस पार्टीसँगको आवद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले नेपाली कांग्रेस पार्टी परित्याग गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँछु,” विज्ञप्तिमा भनिएको छ ।

बोहरा नेपाल प्रहरीका १४औं प्रहरी प्रमुख हुन् उनी २०४९ फागुन देखि २०५३ माघसम्म नेपाल प्रहरीको आईजीपी रहेका थिए ।

पाटी परित्यागको घोषणा गर्दै बोहराले सार्वजनिक वक्तव्य :-

के हुन लागेको हाम्रो मुलुकमा ? लूटको धन फुपुको श्राद्ध भन्ने आहान चरितार्थ गरिदै छ ।जिम्मेवार रहनु पर्ने व्यक्ति र निकायहरु नै गलतकार्यमा संलग्न भैरहेका छन । महंगी र असुरक्षाभावले जन- असंतुष्टिले क्रमैसंग देशव्यापी आक्रोसको आकार लिंदै गएको यथार्थ सबैसामु छर्लङ्ग छ । अब कतै त्यो भयावह आन्दोलनको रूप लिने त होइन ?उर्लिदो भ्रष्टाचार र आर्थिक अनियमितताले देशलाई गहिरो संकटतिर धकेलीरहेको कुरा तथ्याङ्क र विज्ञहरुले बताईरहेका छन ।तर यी सूचक र यसमा निहित सन्देशप्रति न सत्ताशीन गठवंधनका नेताहरु संवेदनशील छन न त लोकतन्त्रका प्रवलसाझेदार कहलिने प्रतिपक्ष नै जागरुक छ । गरिबी र अभावमा पिल्सिएका नेपालीको घाउमा मल्हम लगाउने प्रयत्न गर्नु त कता हो कता राज्यसंयत्र हाँकेर बसेका नेताहरु सिधा – साधा जनतालाई भ्रामक कुराहरुमा पारी झुक्य्याउने र तिनकै नाममा राज्यकोष दोहन गर्ने कार्यमा निर्लिप्त छन ।एकातिर योग्यताको आधारमा कार्यरत सरकारी कर्मचारीले तलब – भत्ता न पाउने अनि पेंसनपट्टा भएकाहरुले निवृत्तिभरण नपाउने अवस्थाको शृजना गराइरहेको छ भने अर्को तिर पहिल्यै ‘अयोग्य’ घोषित भैसकेकाहरुलाई बांडन भनेर राज्यको ढुकुटी बाट बजेट स्वीकृत भएको र यसका लागि सरकारले कार्यविधि समेत पारित गरिसकेको सुचना समाचार माध्यममा आएको छ ।यस्ता जनविरोधी हर्कतहुँदा समेत राज्यसंयन्त्र हाँकने जिम्मा पाएका र तिनलाई सघाउने गठवंधनदलका नेताहरु गतिहीन र मतिहीन तमासे भएर बसेको देख्दा जनतामा घोर नैराश्य छाउनु स्वाभाविकै हो । अयोग्य ठहरिएका पूर्व लडाकुहरु पनि नेपाली नागरिक हुन । उनीहरुलाई सहयोग गर्नु हुदैन भन्ने मेरो मनसाय कदापि होइन । उनीहरुलाई पनि यथायोग्य रोजगार उपलव्ध गराई दिनु राज्यको जिम्मेदारी भित्रै पर्दछ। तर प्रत्येकलाई २/२ लाख रुपैयाँ राज्यको ढुकुटी बाट बाँडने निर्णयको विषयमा काँग्रेस कोटाका अर्थमंत्रीले पनि पानीमाथिको ओवानो हुनखोजेको घटना अझबढी हास्यास्पद छ । किन दुधको साक्षी बिरालो हुन परेको ? वास्तवमा पार्टी प्रतिको जनमत बुझेर त्यसको मूल्याङ्कन गरीकन मात्र पाईला चाल्नु पर्नेमा मेरो गोरुको बाह्रै टक्का भन्ने शैलीमा सुरिदै हिडनु कति उचित हो ? यसरी दलकानेताहरुले आफु शक्तिमा छँदा पटक पटक अनेक गलत र अपरिपक्व जनविरोधी निर्णय गरेको देख्दा पार्टी प्रतिवद्ध सदस्यहरुमा विरक्ति उत्पन्न हुने नै भयो । म स्वयं पनि अपवाद हुन सकिन । मैले प्रहरी सेवाकोअवकास पछि विगत २५ वर्ष देखि ने का को सकृय सदस्य र महाधिवेशन प्रतिनिधि समेत भएर प्रतिवद्धताका साथ यथासक्य काम गरेको हुँ । तर देश संकटको भुमरीमा परेका वखत समेत पार्टी नेतृत्व मौन छ ।त्यसो हुनाले अब यस पार्टीसंगको आवद्धता औचित्यहीन सम्झी आजैका मिति देखि मैले नेका पार्टी परित्याग गरेको व्यहोरा सम्वंधित सबैलाई जानकारी गराउँछु र निष्टावान सदस्यहरुलाई झोले चप्पलेको रुपमा हेर्ने र व्यवहार गर्ने त्यहाँको चलनको कडा शव्दमा निन्दा गर्दछु । अन्तमा यतिञ्जेलको मेरो सकृय सहभागिताका क्रममा मलाई समर्थन र सहयोग गर्ने नेता तथा म जस्तै कार्यकर्ता र विशेषत: मेरा जिल्लावासी साथी, सहयोगी र इष्टमित्रहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । साथै एक स्वतन्त्र नागरिकाको हैसियतमा रहेर समाजसेवामा यथासंभव योगदान गर्दैरहने प्रण गर्दछु ।
जयनेपाल ! ( नेपाल प्रहरीको अभिवादन ) मोतीलाल बोहरा


क्याटेगोरी : राजनीति, राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode