Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जयगढमा योजना तर्जुमा बैठक : प्रदेशका योजना किनबेच हुने गरेको चौतर्फी आरोप


प्रदेश निर्वाचन क्षेत्रको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा बैठक जयगढमा सम्पन्न भएको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको परिपत्र अनुसार अछाम निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ को वार्षिक कार्यक्रम तथा योजना तर्जुमा बैठक बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा सम्पन्न भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका निवर्तमान श्रम रोजगार तथा सामाजिक विकास मन्त्री प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवर प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै उनले बढी भन्दा बढी नागरिकलाई लाभ मिल्ने योजनाहरूमा बजेट बिनियोजन् गर्नुपर्नेमा जोड दिएका थिए ।

अछामको समृद्धिको ढोकाका रुपमा हेरीएको सेती लोक मार्गलाई तीव्र रुपमा संचालन गर्नु प्रमुख आवश्यकता रहेको औँल्याउँदै कुँवरले सेती लोक मार्ग निर्माणका लागी सरकारको ध्यानाकर्षण गराउदै आएको बताएका छन् ।

जिल्लाको समृद्धिका लागी महत्त्वपूर्ण भूमिका खेल्ने रामारोशन पर्यटकीय क्षेत्रको प्रचार प्रसार र विकासका लागी आवश्यक बजेटको व्यवस्थापन गरिनुपर्नेमा समेत उनले जोड दिएका छन् । गाउँ ठाउँको विकासका लागी संचालन हुने बिभिन्न योजनाहरू व्यक्तिगत स्वार्थका कारण किनबेच हुनेबारे गुनासो बढेको तर्फ चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधिले संघीयता नै धरापमा पर्न सक्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँद र रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउँद विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने योजनाका बिषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा सहभागीहरूले प्रदेश सरकारबाट आउने योजनाहरूमा आर्थिक चलखेल तथा हिनामिना हुने व्यापक गुनासो गरेका थिए । प्रदेश सरकारबाट योजना ल्याउनु पूर्व नै सर्वसाधारणबाट रकम असुली गर्ने बिचौलियाहरू सक्रिय रहेको कार्यक्रममा सहभागीले दाबी गरेका छन् ।

रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँदले प्रदेश सरकारको योजना बितरणदेखी कार्यान्वयनका क्रममा बिभिन्न विकृति रहेको भन्दै गुनासो गरेका थिए । योजनाका नाममा आर्थिक असुली गर्ने समूह हाल पनि सक्रिय रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले स्थानीय सरकारले गर्न सक्ने योजनाहरू स्थानीय सरकारले नै गर्नुपर्ने र आवश्यक ठुला योजनाहरू माथिल्लो सरकारसँग माग गर्नुपर्नेमा जोड दिएका थिए ।

गाउँ ठाउँको विकासका लागी जनप्रतिनिधि राजनीतिक दलसँगै सर्वसाधारण जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । स्वार्थपूर्तिका लागी नभई आवश्यकता र औचित्य पुष्टि हुने गरि विकास निर्माणका योजना संचालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले योजना छनोट तथा कार्यान्वयनमा देखीएको बिृकतीलाइ न्यूनीकरण गर्ने उद्देश्य सहित वार्षिक कार्यक्रम तथा योजना तर्जुमा बैठक आयोजना गरिएकोमा खुसी व्यक्त गरेका थिए ।

जनताको मागमा आधारित योजना संचालन गर्न स्थानीय रूपमै छलफल कार्यक्रमको आयोजना गरिनु सुखद पक्ष भएको बताउँदै उनले जनताको सुझाव र मागका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । ग्रामीण स्तरबाटै सुझावका आधारमा योजना छनोट हुने भएपछि बिचौलियाहरूको नीद हराम भएको उनले प्रतिक्रिया दिएका छन् ।

आगामी आर्थिक वर्षमा बजेट विनियोजनका लागी पालिकामा आवश्यक योजनाहरूलाई छलफल गरि प्राथमिकताका आधारमा माग पेस गर्न प्रदेश सरकारले परिपत्र गरिसकेको छ । पालिकाहरूले यही वैशाख २४ गतेसम्म योजनाहरूको बिवरण पेस गरिसक्नुपर्ने बताईएको छ ।

रामारोशन,मेल्लेख र बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी लगायत सहभागी कार्यक्रममा जिल्ला स्थित बिभिन्न कार्यालय प्रमुखहरू सहभागी थिए । भने कार्यक्रमको संचालन जिल्ला वन अधिकृत भोजराज शर्माले गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode