Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

तराईमा हावाहुरी, पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना


केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ । आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि पश्चिमी वायुको प्रणाली नेपाल भित्रदैछ । यही प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यस्तै, वाग्मती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ । आज भन्दा भोलि र पर्सि पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको मौसमविद् मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार भोलि र पर्सि देशभर नै मौसम बद्ली हुने अनुमान छ । यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ । केही दिनदेखि पानी नपर्दा र डढेलो लगायतका कारण तापक्रम ह्वात्तै बढ्दा जनजीवन प्रभावित भएको छ ।

खासगरी तराईका जिल्लामा गर्मी र तातो हावाको असर देखिन थालेको छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, जनकपुरको ४० दशमलव ८, नेपालगञ्जको ४० दशमलव ५ र सिमराको ४० दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।

दीपायल, धनगढी र विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा धेरै छ । आज दिउँसोसम्म गर्मी भए पनि दिउँसो पछि भने मौसम बद्ली भई धेरै ठाउँमा शीत्तल हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode