Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

७ सय ४८ वटा पालिकामा स्वास्थ्य बीमा विस्तार


आज सातौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका गरी ७ सय ४८ वटा पालिकामा विस्तार भएको छ ।

दुई महानगरपालिका काठमाण्डौ र ललितपुर तथा काठमाण्डौका तीन वटा नगरपालिका कीर्तिपुर, बूढानीलकण्ठ र नार्गाजुनमा सेवा विस्तार हुन बाँकी छ । बाँकी ५ वटा नगरपालिकामा पनि यसै वर्षभित्र सेवा विस्तार गर्ने तयारी रहेको बीमा बोर्डका कार्यकारी निर्देशक डा :दामोदर बसौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ६५ लाख नागरिक सहभागी भएका छन् । ती मध्ये झण्डै २८ लाख, ९३ हजारले बीमामार्फत् स्वास्थ्य सेवा लिएका छन् ।

बीमा नवीकरण गर्नेहरु ७० प्रतिशत रहेका छन् । देशभरका ४ सय ५६ स्वास्थ्य संस्थाबाट बीमाबापत प्राप्त गर्ने सेवा उपलब्ध छ । स्वास्थ्य बीमा कार्यक्रमबाट ७ वर्षमा ३३ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ ।

सरकारको अनुदान र नागरिकको बीमाबाट उठेको रकमबाट भुक्तानी हुँदै आएको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा सुविधा व्यवस्था छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुई सय रुपैयाँ बुझाउनु पर्छ । सातौँ स्वास्थ्य बीमा दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा: प्रकाशशरण महतलगायतले शुभकामना व्यक्त गरी सेवा विस्तार र थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

 

 


क्याटेगोरी : राष्ट्रिय, समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode