Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

इयुका राजदूतको टोली सुदूरपश्चिममा, सञ्चालित योजनाबारे मुख्यमन्त्रीसँग छलफल गर्ने


नेपालस्थित युरोपियन युनियन इयु र उसका तीन सदस्य राष्ट्रका राजदूतको टोली विभिन्न परियोजनाको निरीक्षणका लागि सुदूरपश्चिम आइपुगेको छ।

युरोपियन युनियनसहित सदस्य राष्ट्रहरूको सहयोगमा सञ्चालित योजना तथा कार्यक्रमको निरीक्षणका लागि चार जना राजदूतको टोली सुदूरपश्चिम भ्रमणमा आएको हो।

टोलीले सेती प्रादेशिक अस्पतालमा फोहोरमैला व्यवस्थापनको विषयमा निरीक्षण गर्दै पछिल्लो अवस्थाको विषयमा जानकारी लिएको छ।

नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रज, जर्मनीका राजदूत थोमस प्रिन्ज, फ्रान्सका राजदूत गिलेर बुरबाओ र फिनल्यान्डका राजदूत रिना रिक्का हेइक्काको टोली परियोजनाको निरीक्षणका लागि सुदूरपश्चिम आइपुगेको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले फोहोरमैला व्यवस्थापन कसरी गरिरहेको छ भनेर टोलीले निरीक्षण गरेको छ।

 

त्यस्तै, अस्पतालले महिला र बालबालिकालाई कसरी सेवा दिइरहेको छ भन्ने विषयमा पनि राजदूतहरूको टोलीले अस्पतालक अधिकारीहरूसँग छलफल गरेको छ।

युरोपियन युनियन इयु राजदुतको टोलीले सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगरबहादुर शाहले बताए।

‘फोहोरमैला व्यवस्थापन र अस्पतालले प्रवाह गर्दै आएको सेवा लगायत विषयमा सामान्य जानकारी लिने र दिने काम मात्र भएको हो, उनीहरु सुदूरपश्चिमको भ्रमणमा आएकाले त्यस्तो कुनै औपचारिक कार्यक्रम भएको छैन्।’

सेतीमा फोहोरमैला वर्गीकरण गरेर व्यवस्थापनका लागि जर्मन सहयोगअन्तर्गत जिआइजेडले सहयोग गर्दै आएको छ।

त्यस्तै, सरकारले दातृ निकायसँगको सहकार्यमा बहुक्षेत्रीय पोषण सहयोग परियोजनामार्फत महिला र बालबालिकालाई पोषणमा सहयोग गर्दै आएको छ।

राजदूतको टोलीले विपत् व्यवस्थापनमा नागरिकलाई कसरी सहयोग भइरहेको छ भनेर धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग समेत छलफल गरेको छ। इयुले इको परियोजनामार्फत यहाँको विपत् व्यवस्थापनमा सहयोग गरिरहेको छ।

टोलीसँग फोहोर व्यवस्थापनदेखि उपमहानगरपालिकाले गर्दै आएको कामको विषयमा जानकारी दिने काम भएको धनगढी उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख डिल्लीराज ओझाले बताए। ‘

काम विशेषले मेयर साप धनगढी बाहिर भएकाले टोलीसँग गहन छलफल हुन पाएन तर उपमहानगरभित्र सञ्चालित योजनाको विषयमा सामान्य जानकारी आदानप्रदानको काम भएको छ।’

भ्रमणका क्रममा राजदूतको टोलीले युरोपियन युनियन तथा युनियनका सदस्य राष्ट्रहरूको सहयोग र साझेदारीमा कैलाली, डोटी र डडेल्धुरामा सञ्चालित परियोजनाहरूको अवलोकन गरिरहेको छ। सञ्चालित परियोजनाबारे सम्बन्धित पालिकाका प्रमुखलगायतसँग भेटघाट तथा छलफल गर्ने काम भइरहेको छ।

राजदूतहरूको टोलीले डडेल्धुरामा डडेल्धुरा अस्पतालको फोहोरमैला व्यवस्थापन, फिनल्यान्डको सहयोगमा सञ्चालन भइरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तथा मुक्त हलियाको पुनःस्थापना, जीविकोपार्जन कार्यक्रमको निरीक्षण र यसबारे सरोकारवालासँग छलफल समेत गरिरहेको छ।

खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि फिनल्यान्ड सरकारको सहयोगमा यहाँका विभिन्न जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना सञ्चालनमा छ।

सुदूरपश्चिममा मुक्त हलियाको पुनस्थापना, उनीहरूको जीविकोपार्जन तथा सशक्तीकरणमा समेत फिनल्यान्डले सहयोग गर्दै आएको छ।

जिआइजेडको सहयोगमा सुदूरपश्चिममा सञ्चालन भइरहेको जलवायु संवेदनशील कृषि कार्यक्रमको पनि अवलोकन गर्ने काम भइरहेको हो।

राजदुतको टोलीले डोटीमा प्रादेशिक तालिम केन्द्रको निरीक्षणसँगै दीपायल–सिलगढी नगरपालिकाका मेयरसँग छलफल, डोटी र डडेल्धुरामा विभिन्न परियोजनाको निरीक्षणपछि धनगढी पुगेर मुख्यमन्त्रीसँग सुदूरपश्चिमको विकास र यहाँ सञ्चालित योजनाबारे छलफल गर्ने कार्यक्रम छ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode