Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

१३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तुर्माखादमा सुरु

मेरा लागी राष्ट्र राष्ट्रियता र जनताको हित नै सर्वोपरि : डा. रावल (भिडियो सहित )


नेकपा एमालेका नेता पूर्व उप प्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले पदमा हुँदा पनि र नहुँदा पनि राष्ट्र र जनताको हितका लागी तत्पर रहने बताएका छन् ।

जिल्लाको तुर्माखाद गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । आफ्ना लागी राष्ट्र,राष्ट्रियता र जनताको हित नै सर्वोपरि हुने रावलको भनाई छ ।

राष्ट्र र जनताका लागी भएको राजनीतिक परिवर्तन सरकारको खिचातानीका कारण ओझेलमा पर्दै गएको भन्दै रावलले चिन्ता व्यक्त गरेका छन् । नेतृत्वमा रहेकाहरू पद र सरकार प्राप्तिका लागी तल्लीन बन्दै जानु देश र जनताका लागी दुःखद बनेको उनले बताएका छन् ।

जनताको आधारभूत आवश्यकताको परिपूर्ति,देश विकास र समृद्धिका लागी ल्याइएको राजनीतिक परिवर्तन यस्ता हर्कतहरुका कारण धरापमा पर्दै गएकोप्रति रावलले चिन्ता व्यक्त गरेका छन् ।

कृषि,पर्यटन,ऊर्जा यातायात, रोजगारी र देश विकासको परिकल्पना सहित ल्याइएको राजनीतिक परिवर्तन ओझेलमा पर्दै जाँदा राजनीतिक परिवर्तनका लागी जेल नेल भोगेका तथा सहादत प्राप्त गरेका शहीदहरूको अपमान भइरहेको उनको भनाई छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका लागी वरदान साबित हुने अपर कर्णाली जल बिद्युत् आयोजना विदेशी कम्पनी जिएमआरलाई सुम्पिनु घातक हुने भन्दै यसको विरोधमा रहेका रावलले हालसम्म पनि परियोजनाको कार्य अघि नबढ्नु र सम्झौता अनुसार काम नगर्ने कम्पनीलाई सम्झौता अनुसारको जरिवाना नगराइनुले सरकारको लाचारपन पुष्टि भएको समेत रावलले बताएका छन् ।

नदीनाला,बनजंगल,विदेशीको हातमा सुम्पिएर ,दक्ष जनशक्तिलाई विदेश पठाएर देश समृद्ध बन्न नसक्ने उनको भनाइ छ । दक्ष जनशक्ति विदेश बिदेसिनु पर्ने बाध्यताको अन्त्य गर्न देशमै रोजगारीको सिर्जना गर्नुका साथै संविधानको मर्म र भावनालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका नेता रावलले आफूले गर्न सक्ने जनताको हितका कामका लागी सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रको पहिचानका लागी खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले खेलाडीहरूलाई अनुशासन सहितको उत्कृष्ट खेल प्रदर्शन गर्न सुझाव दिएका थिए ।

प्रतियोगिता आयोजनाका लागी तुर्माखाँद गाउँपालिकालाई धन्यवाद दिँदै उनले प्रतियोगिता सफलताको कामना समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले जिल्लाको बिकट मानिएको तुर्माखाद क्षेत्रमा प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यस क्षेत्रको समृद्धिका लागी आफू निरन्तर लागी परेको बताउदैै उनले प्रदेश सरकारको गौरवको योजना चिसापानी जंगलघाट सडक निर्माणले तीव्रता पाएसँगै यस क्षेत्रको विकासको द्वार खुल्ने सांसद रावलले विश्वास व्यक्त गरेका छन् ।

खेलकुद क्षेत्रका माध्यमले देशको समेत पहिचान हुने भएकाले यसको विकासका लागी सबै तहका सरकारहरू जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

जिल्ला खेलकुद समितिका अध्यक्ष केशर खड्काको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा निवर्तमान प्रदेश सभा सदस्य कुन्ता जोशी,तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी. विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य कुन्ता जोशी,मंगलसैन नगरपालिकाका उप प्रमुख संगीता रावल सोडारी ,कमलबजार नगरपालिकाका उप प्रमुख शारदा कुमारी बिष्ट,तुर्माखाद गाउँपालिकाका उपाध्यक्ष विमला कुमारी शाही लगायतका अतिथि रहेका थिए ।


क्याटेगोरी : खेलकुद, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode