Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मंगलसेनका सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा बिस्तार गरिदै


अछामको मंगलसेन नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाका ४९ वटै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा पुर्याउन आवश्यक उपकरण प्रदान गरेको छ ।

नगरभित्रका ११ वटा माध्यमिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिसकेको यहाँका ३८ वटा आधारभूत विद्यालयमा अब इन्टरनेट सेवा जडान हुने मंगलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपक बहादुर भण्डारीले बताउनु भयो ।

आज एक कार्यक्रमका बिच इन्टरनेट जडानबारे अभिमुखीकरण सहित उपकरण प्रदान गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संगीता रावल सोडारीले इन्टरनेट उपकरण हस्तान्तरण गर्नुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य तथा शिव निवास आधारभूत विद्यालयका शिक्षक नर बहादुर रावललाई उपकरण हस्तान्तरण गर्दै नगर उपप्रमुख सोडारीले सामग्रीको उचित र प्रभावकारी उपयोग गरी फाइदा लिन आग्रह गर्नुभयो ।

नेपाल सरकार, टेलिकम र मंगलसेन नगरपालिकाको सहयोगमा सांग्रीला ईन्फरमेटिभ्स मार्फत उपकरण प्रदान गरिएको हो । नेपाल टेलिकमको फोरजी सेवा सेवा इन्टरनेट मार्फत पाइने बताइएको छ ।

विद्युत् पहुँच नभएको विद्यालयमा नगरपालिकाले तत्काल सोलार जडान गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोडारीले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सोडारीले शिक्षण सिकाई क्रियाकलापहरूलाई प्रविधि सँग जोडेर सिकाई उपलब्धि बढाउन आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूलाई इन्टरनेट डिभाइस हस्तान्तरण सँगै विद्यालयमा सञ्चालन र जडान गर्ने विधिबारे नगरपालिकाका सूचना प्रविधि अधिकृत पौरख कुमार बोगटी र सेवा प्रदायक कम्पनी साङ्ग्रिला ईन्फरमेटिभका प्राविधिक जगत बिसीले जानकारी गराउनुभएको थियो ।

इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क प्रयोग गर्न सकिने र त्यसपछि रिचार्ज गर्नुपर्ने जनाइएको छ । २ वर्षसम्म सेवा प्रदायक कम्पनीले नै सेवा शुल्कको जिम्मेवारी लिने सम्झौता गरिएको छ । ३८ वटै आधारभूत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको हस्तान्तरण कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक दीपक बहादुर भण्डारीले गर्नुभएको थियो ।

इन्टरनेटको माध्यमबाट विद्यालयका प्रशासनिक, सूचना तथा शिक्षण सिकाई क्रियाकलाप व्यवस्थित हुने प्रधानाध्यापकहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode