Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रथम शहीद लखन थापाभन्दा २८ वर्ष अघि मारिएका बाँकावीर गुमनाम : के भन्छन् इतिहास जानकार शाह (कुराकानी सहित )


हरेक वर्ष माघ १० गते देखि १६ गते सम्म एक हप्ता सहिद सप्ताहको रूपमा मनाइन्छ । यो एक हप्ता भित्र स्वतन्त्रता तथा देश र जनताको हकहितका खाँतिर आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिन्छ । विशेष गरेर बिं.स १९९७ सालमा तत्कालीन जहानियाँ राणा शासनका विरुद्ध आवाज उठाउँदा बीभत्स हत्या गरिएका शुक्रराज शास्त्री , गङ्गालाल श्रेष्ठ , दशरथ चन्द , धर्मभक्त माथेमाको सम्झनामा सहिद सप्ताह मनाउने गरिएको छ ।

तर जङ्ग बहादुर राणाले बि.स १९०३ शालमा नेपालको शासन सत्ता आफ्नो हातमा लिई भर्खरै जहानियाँ राणा शासन सुरु गरेको बेला बिस १९०४ साल देखि जहानियाँ राणा शासनको विरुद्ध खरो आवाज उठाई विभिन्न क्रियाकलाप गरेर बिस १९०६ सालमा घाटी रेटेर हत्या गरिएका बलदेव शाह बाँकावीर भने अहिले पनि गुमनाम जस्तै छन् ।

जहानियाँ राणा शासनको विरुद्ध आवाज उठाउँदा बिस १९९७ सालको माघमा मारिएका चार जना शहीदहरू भन्दा ९१ वर्ष पहिले घाँटी रेटेर बीभत्स हत्या गरिएका बाँकावीर नेपालकै प्रथम सहिद हुन भनेर अनौपचारिक रूपमा फाटफुट आवाज उठे पनि औपचारिक रूपमा भने नेपाल सरकारले उनलाई अहिलेसम्म सहिदको सूचिमा समेत राखेको छैन ।

निवर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली स्वयमले सार्वजनिक रूपमै नेपालको प्रथम सहिद बाँकावीर नै भएको उल्लेख गरेपछि भने सामान्य रूपमा बाँकावीरको चर्चा र खोजी हुन थालेको छ ।

देश भित्र तथा बाहिर बाँकावीरको योगदान तथा इतिहासबारे चर्चा तथा खोजी हुन थाले पनि बाँकावीरले सहादत प्राप्त गरेको इतिहास बोकेको बान्नीगढी जयगढ गाउँपालिकाले हालसम्म पनि बाँकावीरको इतिहासबारे कुनै पनि चाँसो देखाएको छैन ।

बान्नीगढी किल्लामा राणाहरुको फौज बसेको क्षेत्र तथा घेरा पर्खालहरु संरक्षणको पर्खाइमा दिनानुदिन ओझेलमा पर्दै आइरहेका छन् भने बाँकावीरको घाँटी रेटिएको जनालीकोटको काफलखेत धाराको इतिहास पनि सङ्कटमा पर्दै गएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको परिचय दिने पार्श्वचित्र तथा भिडियो डकुमेन्ट्रीमा समेत बाँकावीरको बलिदानी र इतिहासबारे कुनै पनि कुरा उल्लेख भएको पाइँदैन । यति मात्र होइन गाउँपालिकाको गाउँ सभा लगायतका महत्त्वपूर्ण कार्यक्रम र पालिकाको नीति तथा कार्यक्रममा समेत उनको नाम हालसम्म समावेश गरिएको छैन ।

उसो त बाँकावीरका विषयमा कुनै पुस्तक तथा लेख रचना प्रकाशित नभएका भने होइनन् । बलदेव शाह अर्थात् बाँकावीरको योगदान तथा बलिदानबारे विभिन्न पुस्तक तथा पत्रपत्रिकामा चर्चा गरिएको पाइन्छ ।

अछामको बान्नीगढी किल्लामा रहेको राणा फौजले ज्याजति गर्न थालेपछि राणा विरुद्ध आन्दोलन थालेका बाँकावीरलाई जङबहादुरले विसं १९०५ वैशाखमा ‘जहाँ फेला पर्छन्, त्यहीँ काट्नू’ भन्ने आदेश दिएको पत्र हाल पनि सुरक्षित रहेको अछामको इतिहासबारे जानकार सुरत शाह बताउँछन् ।

बलदेवलाई काट्ने आदेश आएपछि अछाम बान्नीगढीमा बसेका जङ्गबहादुरका सैनिक सादा पोसाकमा बलदेवको सुराकी गर्न गाउँ डुल्न थालको बताइन्छ ।

विभिन्न पुस्तक तथा आलेखहरूमा उल्लेख भए अनुसार ‘एक पटक जङ्गबहादुरका सैनिकले बलदेवलाई कैलाली चिसापानीदेखि उत्तरको जङ्गलमा घेरा हाली पक्रन खोज्दा वर्षातको भेलसहित उर्लिएको खोलासमेत उफ्रिएर पार गरी बाँकावीर भाग्न सफल भएका थिए । सो ठाउँलाई हाल पनि बाँकावीर फट्टक्केका रूपमा चिनिन्छ ।

बाँकावीरको हत्या सम्बन्धी विभिन्न आलेख तथा पुस्तकहरूमा उल्लेख गरिए अनुसार

बाँकावीरलाई सहजै पक्राउ गर्न नसकेपछि राणा सरकारले षड्यन्त्रको बाटो रोज्यो । जङबहादुरले बाँकावीरलाई मार्ने जिम्मा अछामकै स्वाँरलाई दिए । आफ्नो पल्टनमा रहेका अछामका भवानीसिंह स्वाँर र कालूसिंह स्वाँरलाई राणा विरोधी भएको र पल्टनबाट बर्खास्त गरेको नक्कली कथासहित बलदेव (बाँकावीर) लाई मार्न अछाम पठाए ।

राणाले निकाला गरेको कारण देखाउँदै आफू पनि राणाविरुद्धको विद्रोहमा सामेल हुने भन्दै भवानीसिंह र कालूसिंह स्वाँर अछाम आएर बाँकावीरको टोलीमा मिसिए । खासमा उनीहरू सुराकी थिए । अछामबाट राणा सैनिक हटाइने भन्दै उनीहरूले बाँकावीरलाई विश्वासमा लिए । यता बाँकावीरलाई उनीहरूले बान्नीगढीको सैनिक क्याम्प आक्रमण गर्ने योजना बनाए ।

विसं १९०६ को बर्खा याममा बाँकावीरले बान्नीगढीमाथि आक्रमण गर्ने योजना बनाए । आक्रमणका लागि रेकी गर्न भन्दै बाँकावीरसँगै स्वाँरबन्धु पनि गए ।

‘रेकीबाट फर्किँदै गर्दा बाँकावीर काफलखेत (तत्कालीन जनालीकोट गाविस वडा नं ५, हाल– बान्नीगढी गाउँपालिका वडा नम्बर २ ) धारामा नुहाउन थाले’ ‘नुहाउँदै गरेका बाँकावीरमाथि भवानी र कालूसिंह स्वाँरले खुकुरी प्रहार गरे । टाउको छिनाए ।।’

अछामको इतिहासका जानकार सुरतबहादुर शाह भने ढिलो चाँडो बाँकावीर नेपालको प्रथम शहीदको रूपमा दर्ज हुने दाबी गर्छन् ।

बाँकावीर सुदूरपश्चिमको भएकै कारण प्रथम शहीदको रूपमा औपचारिक घोषणा नभएको उनको बुझाई छ । बाँकावीर सुदूरपश्चिमको अछाममा जन्मे तत्कालीन जहानियाँ राणा शासनका विरुद्ध सशक्त आवाज उठाए आवाज उठाएकै कारण उनलाई जालमा पारी बीभत्स रूपमा मारियो शाहले भने । बाँकावीरलाई जङ्गबहादुर राणाले मार्नका दिएको आदेश पत्र अहिले पनि सुरक्षित भएको उनी बताउँछन् ।

यसैबिच आज हामीले सहिद दिवसको अवसर पारी राणाहरुले सर्बसाधारण जनतामाथि गरेको अन्यायका विरुद्ध आवाज उठाउँदा प्राण उत्सर्ग गरेका बलदेव शाह बाँकावीरको विषयमा अछामको ईतिहाँसका जानकार सुरतबहादुर शाहसँग कुराकानी गरेका छौँ ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode